२५ कात्तिक, काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राष्ट्रिय स्वाधिनताको प्रश्न थप पेचिलो र संवेदनशील बन्दै गएको बताएका छन्। प्रचण्डले हाल नेपालमा शक्ति केन्द्रहरुको दबाब बढिरहेको र नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय घटनाक्रमले प्रभावित बनाइरहेको बताए। मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले नेपालका लागि राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु अहिलेको महत्वपूर्ण चुनौती भएको बताएका हुन्।
उनले भने, “अहिले नेपालको राष्ट्रिय अवस्था र भौगोलिक स्थितिलाई ध्यानमा राख्दै नेपालमाथि शक्तिशाली राष्ट्रहरुको दबाब निरन्तर बढ्दो छ। विश्वभरि चलिरहेका घटनाक्रम, विशेषगरी अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनको सम्भावना, इजरायल-हमास युद्ध, रुस-युक्रेन युद्ध लगायतका कारणले नेपालमाथि प्रत्यक्ष असर परेको छ।” प्रचण्डले नेपाल जस्तो सानो राष्ट्र, जसको भू-स्थिति भारत र चीनजस्ता ठूला छिमेकी राष्ट्रहरूको बीचमा रहेको छ, तिनका गतिविधिहरूको असरबाट अछुतो रहन नसक्ने बताए।
प्रचण्डले थपे, “नेपालको राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउने, यसलाई बचाइराख्ने कार्य थप चुनौतीपूर्ण छ। सरकार जुन धरातलमा बनेको छ, त्यसको पछाडि रहेका शक्तिहरू नेपालमाथि आफ्नो दबाब कायम राख्न खोजिरहेका छन्।”
सामान्यतया विश्वभरि नै असाधारण परिस्थितिले एकथरी वुद्धिजिवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएका छन्। प्रचण्डले भने, “विश्वको स्थिति सहज र स्थिरतापूर्वक अगाडि बढेको छैन। कतिबेला र कहाँ विष्फोट हुने हो, यसलाई कसैले अनुमान गर्न सक्दैन।”
प्रचण्डका अनुसार, यस समयको अन्तर्राष्ट्रिय अस्थिरता र शक्ति संघर्षले नेपालको स्वाधिनता र राष्ट्रिय एकतामा प्रत्यक्ष प्रभाव पारेको छ। उनले थपे, “यस्तो अवस्थामा नेपाली जनता र राजनीतिक नेतृत्वले एकजुट भएर राष्ट्रिय एकता बलियो बनाउनु आवश्यक छ। राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै दल र जनतालाई एकैठाउँमा उभिनुपर्नेछ।”
अन्तर्राष्ट्रिय मञ्चमा भइरहेका परिवर्तनले नेपालको राजनीतिक र सामाजिक संरचनामा गम्भीर असर पारेको र यसलाई सम्बोधन गर्नेतर्फ सरकारलाई गम्भीरता लिन प्रचण्डले आग्रह गरे।