सरकारलाई अन्तर्राष्ट्रिय परिस्थिति सहज बन्दै गएको प्रधानमन्त्रीको भनाइ

UMl Sachibalaya

काठमाडौं, २४ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले हालको अन्तर्राष्ट्रिय परिस्थिति नेपाल सरकारको लागि सहज बन्दै गएको बताएका छन्। शनिबार बसेको नेकपा (एमाले) सचिवालयको ४० औं बैठकमा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको प्रक्रिया थप सहज हुँदै गएको जानकारी गराएका छन्। नेपाली कांग्रेससँगको समन्वयको सफलताले सरकार सञ्चालनमा सहजीकरण भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले कांग्रेससँग मिलेर बनाइएको संयन्त्रले सरकारलाई मुलुकको हितमा काम गर्न सहयोग पुगेको उल्लेख गरे। “समन्वय राम्रो भइरहेको छ। कांग्रेस र हाम्रो संयन्त्र बनाएका हौं,” प्रधानमन्त्रीले भनेका थिए।

अन्तर्राष्ट्रिय परिस्थिति पनि नेपालका लागि अनुकूल बन्दै गएको प्रधानमन्त्रीले बताए। उनले आगामी १७ मंसिरदेखि चार दिने चीन भ्रमणको तयारीबारे जानकारी दिँदै चीनसँग भएका सम्झौताहरूमाथि कार्यान्वयनको मुख्य ध्यान दिने उल्लेख गरे। उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार, प्रधानमन्त्रीको भ्रमण छोटो समयको हुनेछ तर यसले नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउनेछ।

ओलीले सन्तुलित परराष्ट्र सम्बन्धको आधारमा काम गर्नुपर्नेमा जोड दिँदै भारतसँग पनि सम्बन्ध बिग्रन नहुने तर्क गरे। “नाकाबन्दीको समयमा हामीले आफ्नो अडान लियौं, भारत रिसायो। तर यो सरकार सन्तुलित परराष्ट्र सम्बन्धका आधारमा अघि बढ्छ,” उनले भने।

प्रधानमन्त्रीको भ्रमणअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एक टोलीले चीन भ्रमण गर्ने तयारी पनि गरिएको छ। यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले विश्वलाई फाइदा पुग्ने आशा व्यक्त गरेका छन्। “ट्रम्पले अरु देशमा सैनिक नराख्ने र हतियारमा लगानी नगर्ने कुरा गरेका छन्, यसलाई राम्रो मान्नुपर्छ,” उनले बैठकमा थपे।

    समन्धित समाचार