नुवाकोट, विदुर – भैरूम माध्यमिक विद्यालय, विदुर नगरपालिका–८ मा अतिरिक्त समयमा चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी कक्षाहरू सञ्चालन गरिएको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र आइटीको ज्ञान दिन उद्देश्यासहित सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीलाई चीनसँगको शैक्षिक र व्यावसायिक सम्भावनामा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
चिनियाँ दूतावासको आर्थिक र प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले बिहानको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङका अनुसार, कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण पनि समितिले गरिरहेको छ। नमुनाका रूपमा विदुरमा सुरु भएको यो कार्यक्रम सफल भएमा अन्य विद्यालयमा विस्तार गरिने योजना दूतावासले जनाएको छ।
जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने, “नेपाली विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्तिमा वा निजी रूपमा चीन जाने गरेका छन्। प्रारम्भिक तहमै भाषा र कम्प्युटर ज्ञान प्रदान गर्न थालेका छौँ, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरहरूको लागि तयार बनाउँछ।”
चीन सरकारअन्तर्गत सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजले विश्वका सयभन्दा बढी देशमा भाषा र प्रविधि सम्बन्धी कक्षा सञ्चालन गरिरहेको छ, जसैको उदाहरणस्वरूप पहिलो पटक नुवाकोटमा कक्षा सञ्चालन गरिएको हो। कलेजको पाठ्यक्रममा आधारित यो कक्षाका लागि आवश्यक शिक्षक र सामग्री सोही कलेजमार्फत उपलब्ध गराइएको छ। विद्यार्थीहरूलाई अतिरिक्त कक्षासहित निःशुल्क दिवा खाजा, शैक्षिक सामग्री पनि प्रदान गरिएको छ।
यो कार्यक्रम ‘ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल’ को सहजीकरणमा संचालित छ। विदुर–८ का वडाध्यक्ष कमल श्रेष्ठका अनुसार, हाल वडाभित्रका कक्षा ११ र १२ का विद्यार्थीलाई प्राथमिकता दिइएको छ भने रिक्त स्थानमा इच्छुक अन्य युवालाई पनि समावेश गरिने योजना रहेको छ।
यसका साथै, नुवाकोटमा चीन सरकारको सहयोगमा साततले दरबारको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य, कृषि, र सहरी विकासका विभिन्न क्षेत्रमा चिनियाँ दूतावासमार्फत अन्य परियोजनाहरू पनि सञ्चालन भइरहेका छन्।