इलन मस्कको स्टारलिंकले नेपालमा इन्टरनेट सेवा विस्तारमा चासो देखायो

elon x

विश्वप्रसिद्ध उद्यमी इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न इच्छुक रहेको जानकारी दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङसँग भेटघाटमा कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा स्टारलिंकले सेवा विस्तार गर्ने इच्छाशक्ति प्रकट गरिन्।

मन्त्री गुरूङले भने, “नेपालका लागि अमेरिकी राजदूत र स्टारलिंककी निर्देशकले भदौमा मन्त्रालयमै भेट गर्नुभएको थियो। उहाँहरूले नेपालमा काम गर्न चाहन्छौं भन्नुभयो। हामी छलफल गरेर निर्णय गरौंला भनेको थिएँ।”

स्टारलिंकले विश्वभरका धेरै देशहरूमा सेटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। यसका लागि कम्पनीले पृथ्वीको बाहिरी कक्षमा करिब ४०० किलोमिटरमाथि ५ हजारभन्दा बढी साना सेटेलाइटहरू प्रक्षेपण गरेको छ। यी सेटेलाइटहरूले पठाउने रेडियो फ्रिक्वेन्सीहरूलाई विशेष प्रकारका साना ‘डिस’हरू मार्फत प्रयोगकर्ताले इन्टरनेट सेवा प्राप्त गर्न सक्छन्।

दूरदराज र हिमाली क्षेत्रमा इन्टरनेट पुर्‍याउन फाइबर इन्टरनेट चुनौतीपूर्ण हुने भएकाले, स्टारलिंकको सेवा अत्यन्तै प्रभावकारी हुन सक्ने देखिन्छ। यद्यपि, यो सेवा नेपालमा महँगो पर्ने देखिएको छ। स्टारलिंकले व्यक्तिगत प्रयोगकर्तालाई मासिक १२० डलरमा सेवा प्रदान गर्ने गरेको छ, जुन नेपाली रुपैयाँमा करिब १६ हजार पर्न जान्छ। नेपालमा फाइबर इन्टरनेट सेवा भने मासिक १५ सय रुपैयाँमै उपलब्ध छ, जसले गर्दा स्टारलिंकको सेवा महँगो बन्ने सम्भावना छ।

बिभिन्न व्यवसायिक प्रयोजनका लागि पनि स्टारलिंकले इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। कतार एयरवेजजस्ता विमान कम्पनीहरूले समेत विमानमै स्टारलिंकको सेवा मार्फत उच्च गतिको इन्टरनेट सेवा दिन थालेका छन्।

भारतमा समेत स्टारलिंकलाई सजिलो बनाउने गरी सेटेलाइट स्पेक्ट्रम बाँडफाँड नीति लिइएको छ, जसले गर्दा मस्कको कम्पनीले भारतमा इन्टरनेट सेवा विस्तारमा सहजीकरण पाएको छ।

समन्धित समाचार