यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित

UAE u 19 woman team

काठमाडौं, २४ कात्तिक – आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई घरेलु टोली युएईले १३ रनले पराजित गरेको छ। दुबईमा जारी प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाए पनि टिमलाई जिताउन असफल भइन्। उनले ४३ बलमा ५ चौका प्रहार गर्दै ४८ रनको योगदान दिइन्। अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्, जसमा सोनी पाख्रिनले २३ बलमा १९ रन र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए। ज्योत्सनिका मरासिनी अविजित रहँदै ११ रनमा आउट भइन्।

युएईको बलिङतर्फ इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले एक-एक विकेट लिएका थिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युएईकी रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन्, जबकि लावान्य केनीले २० रनको योगदान दिइन्।

नेपालको बलिङमा रिया शर्माले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक-एक विकेट लिए।

बुधबारदेखि सुरु भएको यो प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो। चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर युएई ६ अंकसहित शीर्ष स्थानमा छ। यो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा झरेको छ।

डबल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोटको अवसर पाउनेछ। नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ।

समन्धित समाचार