एजेन्सी । बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्टनिस्ट पनि भनिन्छ । किनकी उनले अधिकाँश काम पर्फेक्ट नै गर्ने गरेका छन् । यद्यपि उनले गएको एक दशकमा केवल तीन फिल्ममा आफूलाई सफल बनाउन सकेनन् ।
ति हुन्, धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान । फिल्म फ्लप भएता पनि दर्शकले उनले क्यारेक्टरमा गरेको मेहनतको प्रशंसा नै गरेका थिए । उनले क्यारेक्टरलाई जिउने गरेको प्रतिक्रिया दर्शक तथा समीक्षकले दिने गरेका छन् । तर, आमिरले यी सब कसरी गर्छन् त ? उनले आफूले डायलग याद गर्ने तरिका सार्वजनिक गरेका छन् ।
एक अन्तर्वार्ताको क्रममा उनले यसको रहस्य खोल्दै फिल्मको स्क्रिप्ट लिएर त्यसलाई आफैंले अर्को पानामा सार्ने गरेको बताएका छन् । ‘आफ्नो हातले यसरी स्क्रिनप्ले सार्दा डायलगसँगै सिन पनि याद हुन्छ,’ आमिरले अन्तवार्तामा भने । आफूले यस्तो गर्न लागेको धेरै वर्ष भइसकेको जनाउँदै उनले यस्तो तरिकाले पात्रलाई कथासँग जोड्न मद्दत गर्ने बताए ।
पछिल्लो समय आमिर ‘लाल सिंह चड्डा’ को काममा व्यस्त छन् । टम ह्यांक्स अभिनित सफल फिल्म ‘फरेस्ट गम्प’ को रिमेकमार्फत आमिर पुनः एकपटक आफूलाई ‘पर्फेक्ट’ सावित गर्ने तयारीमा छन् ।