एमालेले रास्वपाका विरोधलाई ‘अवाञ्छित गतिविधि’ भने, सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित नगर्न आग्रह

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउविरुद्ध भइरहेको विरोधलाई अवाञ्छित गतिविधि भन्दै आपत्ति जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाको विरोधका कार्यक्रमहरू अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्ने खालका रहेको र यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा सहकारी ठगी प्रकरणबारे भइरहेको अनुसन्धान र संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको उल्लेख छ। एमालेले छानबिन र अभियोजन कार्यलाई प्रभावित गर्ने रास्वपा लगायतका व्यक्तिहरूको गतिविधिलाई अवाञ्छित भनेको छ।

संसदको सहमतिमा बनेको विशेष समितिको प्रतिवेदन सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख गर्दै, यसलाई रोक्न खोज्ने गतिविधि संसद र न्यायिक प्रक्रियाको उपहास भएको एमालेको ठहर छ। एमालेले सबै नागरिक, पार्टी, र संघसंस्थाहरूलाई फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा फौजदारी मुद्दा अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र भयरहित बनाउनुपर्नेमा जोड दिइएको छ। एमालेले कुनै पनि राजनीतिक पार्टी वा व्यक्तिले कानूनी अनुसन्धान प्रक्रियामा बाधा पुर्‍याउनु गैरकानुनी कार्य भएको र दोषीहरूलाई बचाउन प्रयास नगर्न चेतावनी दिएको छ।

यसैगरी, प्रधानमन्त्री र जिम्मेवार व्यक्तिहरू विरुद्ध अमर्यादित अभिव्यक्ति दिनु, गालीगलौज गर्नु र गलत आक्षेप लगाउँदै भ्रम फैलाउने कार्यबाट अनुसन्धान प्रभावित भएको बताउँदै एमालेले उक्त प्रक्रियालाई जोगाउन सबैतिरको सकारात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा नेपाल प्रहरीलाई अनुसन्धान र सरकारी वकिललाई अभियोजन गर्ने जिम्मेवारी दिएको संविधान र कानूनको परिपालना गर्न सबैले बाध्य रहेको बताउँदै, रास्वपाका संघीय सांसदहरूले गैरकानुनी रूपमा पाँच जना भन्दा बढीको भेला गरेको र त्यसलाई कसुरपूर्ण कार्य भनेको छ।

अन्त्यमा, एमालेले अनुसन्धान प्रक्रियामा कुनै पनि किसिमको अवरोध नगर्न सबैलाई ध्यानाकर्षण गराएको छ।