राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम खर्च गरेको हकमा आफुले जिम्मा लिनुपर्ने भए लिन तयार रहेको बताएका छन् ।
आज चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिनमा लामिछानेले जिम्मेवारीबाट आफु बिमुख नभएको भन्दै यस्तो बताएका हुन् । आफू जिम्मेवारीबाट बिमुख नभएको तर गलत व्याख्या गरेर राज्य शक्तिको दुरुपयोग भइरहेको उनको आरोप छ । बचतकर्ताको रकम विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको र उक्त रकम खर्च गर्न लामिछानेको पनि भूमिका रहेको निष्कर्षसहित संसदीय छानबिन विशेष समितिले उनलाई कारबाहीको सिफारिस गरेको थियो ।
उनले सहकारी बचतकर्ताको रकम फिर्ता गराउन आफू र आफ्नो पार्टी निरन्तर लागिरहेको पनि बताए । सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउने विषयमा आफ्नो संलग्नता नरहेको उनले पुनः दोर्होयाए । आफू गोर्खा मिडियामा कार्यरत हुँदा यसखाले गुनासो आएको भए त्यतिखेरै आफूले यसबारे खोजी गर्ने बताउँदै उनले आफू दोस्रोपटक मन्त्री हुँदामात्रै यसबारे जानकारी पाएको बताए । लामिछानेले आफूले कम्पनीको खातामा भएको रकम कम्पनीकै हितका लागि खर्च गरेको बताए ।
त्यस्तै उनले ७५ अर्ब रकम अपचलनको विषय आउँदा आउँदै राजनीतिक स्वार्थका कारण आफूमै केन्द्रित हुँदा सहकार पीडितप्रति अन्याय भइरहेको बताए । उनले आफूले सहकारीको रकम अपचन नगरेको र कसैलाई नठगेको पनि दोर्होयाए ।





