केही समययता राप्रपाभित्र देखिएको असन्तुष्टि थप चुलिँदै गएको छ । पार्टीको महाधिवेशन नजिकिँदै जाँदा गुटगत गतिविधि बढिरहेकै बेला महामन्त्री डा धवलशमशेर राणालाई नै संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी नेताहरूको जिम्मेवारी हेरफेर गर्दा राणालाई संगठन विभागबाट हटाएका हुन् । अहिले राणाको ठाउँमा उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको जानकारी दिए । उनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको , ‘संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुव बहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको छ ।’
अहिले राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी अमेरिकामा छन् । यसैगरी उपाध्यक्ष बिक्रम पाण्डे पनि बिरामी छन् । स्वयम् जिम्मेवारीबाट हटाइएका राणा पनि उपचारको सिलसिलामा भारतमा छन् । नेताहरू यताउति भएको बेला पार्टीमा सल्लाह नै नगरी लिङ्देनले निर्णय गरेको आरोप लागेको छ । जसले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।
राप्रपा पूर्वअध्यक्ष लोहनीले यसबारे कडा टिप्पणी गरेका छन् । ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शम्शेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु’, लोहनीले भनेका छन् ।





