जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते अर्थात आज नारायणी नदीमा उच्च जोखिम र भोलि अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदीमा आज उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ ।
कमला नदी आज उच्च र भोलि मध्यम तथा बागमती नदी पँधेरा दोभानमा आज उच्च जोखिम र भोलि अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा आज मध्यम जोखिम रहेको छ भने भोलि उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ ।
यस्तै पश्चिम राप्ती कुसुममा आज मध्यम जोखिम रहेको तर भोलि भने अति उच्च जोखिम रहेको तथा बबई नदीमा आज मध्यम जोखिम छ भने भोलि अति उच्च जोखिम रहेको जनाइएको छ । यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन यी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।