मिथिलाञ्चल क्षेत्रमा आज जितिया पर्व मनाइँदैछ ।
तराई-मधेशका आमाहरूले निर्जलरनिराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्छन् । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ ।
पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरू भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।निराहार व्रत शुरू गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व सुरु भएको हो ।
यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनीरसखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।