चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन्। एरिकालाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
६८ केजी माथि तौल समूहको कराँते च्याम्पियनसिपमा उनले रजत पदक जितेकी हुन्। फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित हुँदै गुरुङ स्वर्ण पदक जित्नबाट बञ्चित भएकी थिइन्। एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन।
ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए।
एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए। साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो।