जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवा मध्ये सात जना पक्राउ परेका छन् । लागुऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् ।
उनीहरूलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । यसअघि आजै लखौरीबाट लागुऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनीष मण्डल र औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया अझै फरार रहेका छन् । एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दीपक भारतीले घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समिति बनाउने बताए । घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेसनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको देखिएको उनले बताए । ‘थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ,’ उनले भने । अहिले फरार रहेका दुई जनालाई पक्राउ गर्न जनपथ, सशस्त्र र दङ्गा प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए ।