आफूलाई पक्राउ गरेर देखाउन लिङदेनको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई प्रमाण पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । उनले आफूहरू संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए।

‘अहिले भर्खर यहाँ बसेको बेलामा सामाजिक सञ्जालमा देखेँ। संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरूलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ ।

म यहाँबाट केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो  । त्यसको विरोध गर्छ, विपक्षमा छ सके पक्रेर देखाओ,’ उनले भने ।