भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।
चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको छ । यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो ।
फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ । पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।
काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ । आँधीपछि परेको बर्षाले आएको बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।