व्यवसायी मनोज भेटवाल हाजिर जमानीमा रिहा

6 1

पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि हाजिर जमानीमा रिहा भएका छन् ।

गएको असार १३ गते उनलाई प्रहरी परिसर काठमाडौँले अनामनगरबाट पक्राउ गरेको थियो । दम र सुगरको बिरामी रहेका भेटवाललाई सोही रात धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

असार १५ गते जिल्ला अदालत काठमाडौँले भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । दोस्रो पटक गत शुक्रबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले हाजिर जमानीमा छाड्न आदेश गरेपछि रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

समन्धित समाचार