राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो तेस्रो स्थापना दिवस मनाइरहेको छ ।
यस अवसरमा पार्टीले आफ्ना सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाउँदै यस्ता चुनौतीले पार्टीलाई थप एकताबद्ध र दृढ बनाएको बताएको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने यात्राको तीन वर्ष पूरा भएकोमा सम्पूर्ण पार्टी सदस्य र शुभचिन्तकहरूलाई बधाई दिएका छन् ।
उनले छोटो अवधिमै प्राप्त जनविश्वासप्रति कृतज्ञता व्यक्त गर्दै पार्टी स्थापनाको औचित्य पुष्टि भएको उल्लेख गरेका छन् । सन्देशमा भनिएको छ, ‘परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ। सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ।’
