यातायात व्यवसायीद्वारा काठमाडौँमा प्रदर्शन : भोलिदेखि देशभरको यातायात ठप्प पार्ने चेतावनी

20000001

यातायात व्यवसायी र मजदुरहरूले विभिन्न ७ बुँदे माग राखी काठमाडौँमा प्रदर्शन गरेका छन् । सार्वजनिक यातायातलाई कमजोर बनाउनेगरी सरकारले कानुन ल्याउन लागेको भन्दै उनीहरुले आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म जुलुससहित विरोध प्रदर्शन गरेका हुन् । 

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरे । भोलिदेखि देशभरको यातायात ठप्प पार्ने व्यवसायीको चेतावनी छ । 

नेपाल राष्ट्रिय सार्वजनिक यातायात महासंघकाको अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा सडकमा ओर्लिएका उनीहरुले सार्वजनिक यातायात बचाऊ विरोधसभा’ लेखिएको ब्यानर देखाउनुका साथै सरकारविरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर सुवार, ट्रक ढुवानी व्यवसायी महासंघका अध्यक्ष यादवलाल श्रेष्ठ, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज मणि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राई, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीलगायत सहभागी थिए । 

‘गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ फिर्ता लिनुपर्ने व्यवसायीको मुख्य माग छ । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को (२) र दफा १२ को (१) विपरीत हुनेगरी संघीय ऐनसँग बाझिने कानुन सातै प्रदेश सरकारहरुले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन (रातो प्लेट) संचालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ’ज’ तत्काल खारेजी गर्नुपर्ने माग पनि राखेका छन् ।

त्यस्तै, सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ÷समिति नवीकरण फुकुवा गर्न २०८० चैत २० गते दिएको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेकाले यातायात व्यवसायी महासंघ, मजदूर संघ, संगठन र अन्य सरोकारवालाहरुसंग सरकारले विभिन्न मितिमा गरेका सम्झौता र  विभिन्न कार्यदलका सुझाव कार्यन्वयन हुनुपर्नेमा जोड दिएका छन् ।  

मालवाहक सवारी साधनको भारवहन निययन सम्बन्धी निर्देशिका अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू नगरी ट्राफिक प्रहरी र यातायात कार्यालयको मौन समर्थनमा जरिवानामा मात्र ध्यान दिई सडक संरचना बिग्रने र अत्यधिक दुर्घटना बृदि भएकोले त्यसलाई रोक्नुपर्ने व्यवसायीअह्रुको अर्को माग छ ।  

सार्वजनिक यातायात क्षेत्रलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, छिमेकी मुलुकहरुबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीति भएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने जस्ता माग उनीहरुले राखेका छन् । 

यातायात व्यवसायीहरुको आन्दोलनले काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरमा आज आवागमन प्रभावित भएको छ । काठमाडौँमा बीचसडकमै गाडी रोकेर उनीहरुले सांकेतिक विरोध गर्दा सर्वसाधारण र यात्रुले सास्ती खेप्नुपरेको छ ।

समन्धित समाचार