पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये पोखरा२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिनुभयो। माइक्रोमा ११ जना सवार थिए ।
मृतकबाहेक ८ जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको माइक्रो एक्कासि चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।