‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दःखभाग्जनः’ भन्ने आदर्श बोकेको गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ ।
यसै दिन राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउने गरिन्छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना दिँदै गोरखापत्रले मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले गोरखापत्रको ऐतिहासिक यात्रा केवल एक प्रकाशन गृहको कहानी मात्र नभएर यो मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक इतिहासको महत्वपूर्ण घटनाहरूको साक्षी पनि रहेको उल्लेख गर्नुभएको छ । गोरखापत्रले मुलुकको इतिहास र परम्परालाई समेत सम्बोधन गरेको उहाँको भनाइ छ ।
गोरखापत्रले मुलुकका ४५ वटा राष्ट्रिय भाषामा विभिन्न सामग्री प्रकाशित गरेर समावेशी समाजको परिकल्पनालाई सार्थकता प्रदान गर्न पुर्याएको योगदानको सराहना गर्नुहुँदै उहाँले यसले मुलुकको विभिन्न जातजाति, भाषिक समुदाय र क्षेत्रीयताको आवाजलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणमा योगदान गरेको बताउनुभएको छ ।
उहाँको सन्देशमा उल्लेख छ, “आमसञ्चार माध्यमको उद्देश्य भनेको जनतालाई सत्यतथ्य र र निष्पक्ष जनकारी प्रदान गर्नु हो । यस अर्थमा गोरखापत्रले राष्ट्र निर्माणको दिशामा महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।” उपराष्ट्रपति यादवले शुभकामना दिनुहुँदै मुलुकको पत्रकारिता क्षेत्रमा गौरवशाली र कालजयी पहिचान बोकेको ऐतिहासिक तथा प्रतिष्ठित प्रकाशन गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “गोरखापत्रले सरकार र आमनागरिकबिच सञ्चार सेतुका रूपमा कार्य गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायका पक्षमा तथा राष्ट्रिय एकताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”