नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (शुक्रबार) टीकापुर हत्याकाण्ड भएको ९ वर्षको अवसरमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नाउपा बागमती प्रदेश समितिले उक्त प्रतिवेदन सार्वजनिक नाउपालाई उन्मुक्ति दिन माग गरेको हो ।
नाउपा बागमती प्रदेश समिति उपाध्यक्ष राजेश्वर दास श्रेष्ठले सरकारले राजनीतिक घटनालाई अपराधीकरण गरेको बताए । ‘राजनीतिक घटनालाई सरकारले अपराधीकरण गरी प्रस्तुत गर्यो । त्यसको पीडा हामीसँग छ,’– उनले भने । टीकापुर घटनाको वास्तविकता बाहिर ल्याउनका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले टीकापुर हत्याकाण्डलाई ‘राज्यद्वारा घटाइएको बर्वतापूर्ण घटना’ को संज्ञा दिए ।
नाउपाका केन्द्रीय उपाध्यक्ष राजेश अधिकारीले तत्कालीन समयमा स्थानीय स्वायत्तसहितको प्रदेश पाउनुपर्छ भनेर नागरिकहरुले आवाज उठाउँदै गर्दा अखण्ड सुदूरपश्चिमको नाममा जनता विभाजित गराएर द्वन्द्वको अवस्था सिर्जना गराइएको बताए ।
