सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ ।
विभागका अनुसार १० माघ २०८० सालदेखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।
विभागले भनेको छ, ‘यो व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ ।’
साथै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न विभागले अनुरोध गरेको छ ।
नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्ने छ ।





