समानुपातिकमा कांग्रेसलाई २० सिट, १५ महिला अनिवार्य

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये नेपाली कांग्रेसले १६.२३ प्रतिशत अर्थात् १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्दै समानुपातिकतर्फ २० सिट पाएको छ।

प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेस अब प्रतिनिधिसभामा कुल ३८ सांसदसहित दोस्रो ठूलो दल बनेको छ।

समानुपातिकतर्फ प्राप्त २० सिटमध्ये ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसले कम्तीमा १५ महिला र ५ पुरुष पठाउनुपर्ने अवस्था छ। बन्दसूचीका आधारमा विभिन्न समावेशी क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ।

खस–आर्यबाट ६ जना पठाउनुपर्नेमा अर्जुननरसिंह केसीसहित पाँच महिला पर्ने सम्भावना छ। आदिवासी जनजातिबाट ६ जनामा भीष्मराज आङ्देम्बेसहित पाँच महिला, मधेशीबाट ३ जनामा चन्द्रमोहन यादवसहित दुई महिला, दलितबाट ३ जनामा मानबहादुर नेपालीसहित दुई महिला पर्ने देखिएको छ। थारू र मुस्लिम समूहबाट एक–एक जना महिला पठाइने सम्भावना छ।

सम्भावित सूची :

खस–आर्य (६): सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी।

आदिवासी जनजाति (६): गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी, भीष्मराज आङ्देम्बे।

मधेशी (३): निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव।

दलित (३): हरिनादेवी कामी, पवित्रा विक, मानबहादुर नेपाली।

थारू (१): प्रमिलाकुमारी गच्छदार।

मुस्लिम (१): शाहजान खातुन।

यद्यपि दलहरूले समानुपातिकतर्फ निर्वाचित गराउने उम्मेदवारको अन्तिम नामावली अझै निर्वाचन आयोगमा पठाइसकेका छैनन्। आयोगले समूहगत सिट संख्या पठाएपछि मात्रै दलले अन्तिम सूची बुझाउने प्रक्रिया अघि बढ्नेछ।