वैदेशिक रोजगारीलाई सुरक्षित र निःशुल्क बनाउने नीति आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउन नीतिगत पहल अपरिहार्य रहेको बताएकी छन् ।

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई निःशुल्क बनाउने दिशामा समेत सरकार गम्भीर रहेको बताइन् ।प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपयुक्त र दक्ष बनाउने तयारी सरकारले अघि बढाएको उल्लेख गर्दै भनिन्, ‘श्रमिकले वैदेशिक रोजगारीबाट आर्जन गरेको पूँजी, सीप, प्रविधि र अनुभव स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति हामीले अवलम्बन गरेका छौँ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण, सम्मानजनक सहभागिता र सामाजिक सुरक्षा सुनिश्चित गर्न बोर्डलाई निर्देशन दिइन् ।

उनले वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन सेवा’ उपयोगी सिद्ध भएको बताउँदै सबै कल्याणकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने कदम प्रशंसनीय रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीको विकल्प स्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न र सीपमा आधारित उद्यम विस्तार गर्न प्राथमिकता दिनुपर्ने बताइन् । यसका लागि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिइन् ।