माओवादी-समाजवादी एकतामा गोपाल किरातीको प्रवेश

 देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती माओवादी केन्द्रसँग एकताबद्ध भएका छन् । सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको हो ।

एकता पत्रमा भनिएअनुसार हाल नेपाली राजनीतिमा देखिएको अभूतपूर्व जोखिमलाई सही दिशामा ल्याउन एकताबद्ध हुनुपरेको हो । जनयुद्धकालमा भनिएको ‘हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने’ नीतिअन्तर्गत क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य भएको पत्रमा उल्लेख छ ।

यस एकताको मुख्य लक्ष्य १० वर्षे सशस्त्र युद्धबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु, नेपाली समाजको प्रकृतिअनुरूप विकास गर्नु र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्वता जनाउनु हो । विगतका वैचारिक, राजनीतिक तथा सांगठानिक कमजोरीहरूका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समीक्षा गर्ने सहमति बनेको छ । यस समीक्षाको मार्गदर्शनमा जनस्तरबाटै एकता, संघर्ष र रूपान्तरण गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्ने सामर्थ्य आर्जन गर्ने लक्ष्य राखिएको छ ।

गोपाल किरातीले विकसित गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने सहमतिपत्रमा उल्लेख छ । यस सहमति कार्यान्वयन गर्न किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रमा ध्रुवीकृत हुनेछन् ।

यस एकताले स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग, मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित तथा विस्थापित वर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरू र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनबीच समाजवादी ध्रुवीकरण बढाएर जाने बताएको छ ।

यस ध्रुवीकरणमार्फत नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास गर्ने संकल्प गरिएको छ । यसले संविधानको समाजवाद उन्मुख राज्य–व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पुँजीवादी भ्रष्ट शासन अन्त्य गर्ने लक्ष्य लिएको छ ।