मध्य भियतनाममा भीषण वर्षा र बाढी : ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

लगातारको भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार पछिल्ला २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्म वर्षा भएपछि तटीय क्षेत्रहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरणका अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका हुन् ।

युनेस्को विश्व सम्पदा सूचीमा पर्ने प्राचीन सहर होइ एन समेत कम्मर–गहिरो पानीमा डुबानमा परेको छ । स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू डुङ्गा प्रयोग गरी आवागमन गर्न बाध्य भएका छन् ।

स्थानीय बासिन्दा चुओङ गुयेनले भने, ‘सबैजना स्तब्ध छन् । हामीले बाढीको तयारी गरेका थियौँ, तर पानी यति बढ्ने अपेक्षा गरेका थिएनौँ । धेरै घरहरू समयमै सुरक्षित हुन नसक्दा ठूलो क्षति भयो ।’ 

भिडिडिएमएका अनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी गाईबस्तु तथा कुखुरा बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर बाली जमिन नष्ट भएको छ । वातावरण मन्त्रालयका अनुसार एक लाखभन्दा बढी घर प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।

वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन् । भियतनाम पृथ्वीका सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुन्छ ।

तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ । प्राकृतिक प्रकोपका कारण यस वर्षको पहिलो नौ महिनामै १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ ।

सरकारका अनुसार हालसम्म बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत तथा उद्धार कार्य स्थानीय निकायहरू सक्रिय रूपमा गरिरहेका छन्, तर लगातारको वर्षाका कारण कार्य चुनौतीपूर्ण बनेको छ ।