नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर सङ्कटमा परेको बताउँदै अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको दाबी गरेका छन् ।
शनिवार पेरिसडाँडास्थित पार्टी कार्यालयमा शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम अधुरै रहेको उल्लेख गरे । सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई सचेत गराउँदै आएको उनको भनाइ छ ।
‘२३ र २४ का घटनाक्रमले क्रान्ति नजिक आएको देखाएको छ,’ उनले भने, ‘जनताको असन्तुष्टि सङ्गठित गर्न सके छोटो समयमै समाजवादी क्रान्ति सम्भव छ ।’ शहीद परिवारको आक्रोशलाई जिम्मेवारीको बोधका रूपमा लिएको बताउँदै उनले शहीद घोषणा, विधेयक र आयोग गठन भए पनि अपेक्षित परिणाम नआएको गुनासो गरे ।
जनयुद्ध र जनआन्दोलनका सन्दर्भ स्मरण गर्दै प्रचण्डले भने, ‘नेपाल गणतन्त्रमा गयो, तर जनताको कि प्रतिक्रियावादीहरूको भन्ने टक्करबाटै निर्णय हुन्छ । अहिले फेरि क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् ।’राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि चुनौती देखिएको भन्दै उनले साम्राज्यवादसँग सीधै भिडन्तको अवस्था आएको बताए ।
देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिलाई एक मोर्चामा उभिन आह्वान गरे । गणतन्त्र ल्याउन दलाल र पुँजीवादी शक्तिसँग अस्थायी सम्झौता आवश्यक भएको तर तिनले जनअपेक्षा पूरा नगर्दा आक्रोश बढेको उनको विश्लेषण थियो । भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवालाई क्रान्तिकारी उत्तराधिकारी ठहर्याउँदै उनले वृहद् वाम एकता र जनताको तागतबाट संकट पार गर्न सकिने विश्वास व्यक्त गरे ।
शहीद प्रतिष्ठानलाई परिवारहरू सङ्गठित गर्न र शान्ति प्रक्रियाको खोजीमा सक्रिय हुन निर्देशन दिँदै प्रचण्डले यो सभाले कम्युनिस्ट तथा देशभक्त शक्तिलाई एकताबद्ध गर्ने बताए ।



