जिल्ला प्रशासन कार्यालय धनकुटाले कात्तिक १५ देखि १७ गतेसम्मको अवधिमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा धनकुटासहित देशका धेरै स्थानमा भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो तथा डुबान जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको पहिचान राख्न र आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न सुझाव दिएको छ ।
त्यस्तै, सडक अवरुद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै डोजर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न र सबै निकायलाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहन आग्रह गरिएको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनु भयो ।
उक्त जोखिमका कारण पाख्रिबास नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय कात्तिक १४ गतेदेखि १८ गतेसम्म बन्द हुने भएका छन्।् । नगर प्रमुख ज्ञानबहादुर गुरुङका अनुसार बंगालको खाडीमा विकसित मोन्था चक्रवात र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा बढ्ने अनुमान भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नगर शिक्षा शाखाले अभिभावक र विद्यार्थीलाई सावधानी अपनाउन र जोखिमपूर्ण स्थानतर्फ नजान अनुरोध गरेको छ ।



