सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै आज विश्वभर ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यस दिवसको अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम आयोजना हुँदैछ।
सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो र यसको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु रहेको छ।
विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ।



