मुग्लिन-आँबुखैरेनी सडकखण्डमा चल्न थाले गाडी

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डमा रोकिएका सवारी साधनहरु सञ्चालनमा आएका छन ।
साखर भन्ने स्थानमा भासिएको सडक परीक्षण तथा रोकथामका उपाय अपनाउन गएरातिदेखि दुईतर्फी रोकिएका सवारी साधनहरु आज बिहानबाट सञ्चालनमा आएका हुन् ।

प्राविधिकहरुले पहिरोको एस.आर.टी. (सेस्मिक रेसिस्टिभिटी टेस्ट) गर्नुपर्ने भएपछि सवारी आवागमन बन्द गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आज बिहान तीन बजेतिरबाट सवारी साधनहरु चल्न थालेको जानकारी दिएको छ ।

अहिले गाडी चल्न दिइए पनि प्राविधिक परीक्षणको काम भने जारी राख्ने प्राविधिकहरुले बताएका छन् । आँबुखैरेनी–मग्लिन सडकखण्डको डम्पिङ्ग साइट क्षेत्रको आँबुखैरेनी गाउँपालिका–४ साखर भन्ने स्थानमा सडक भाँसिएर आवागमन एकतर्फी भएको छ ।

त्यहाँ सडक एकतर्फी हुँदा सवारीसाधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन–नारायणगढ सडक खण्डमा समेत जाम हुने गरेको छ । लामो समय जाममा बास्नुपर्दा यात्रुहरु हैरानीमा परेका छन् ।