गुल्मीमा बस दुर्घटना, १५ घाइते

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

ईस्मा गाउँपालिका-४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर गुरुङले चलाएको बस घुम्तिमा अचानक ब्रेक फेल भई सडक किनारमै रहेको मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बस र घर दुवै पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

घाइते १५ जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ । चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ भने बस अझै घटनास्थलमै रहेको छ ।