मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध

पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १०, जवाङ खोलामा खसेको सुक्खा पहिरोले मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरोले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका साथै यात्रुहरुसमेत अलपत्र परेका छन् । गएराति खसेको पहिरोले एकतर्फी सडक सञ्चालनमा आएको केही समयमै पुनः ठूलो पहिरो झरेपछि सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । प्रहरीका अनुसार, पहिरो खस्ने क्रम निरन्तर रहेकाले तत्कालका लागि पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।

रातभर सडकमै अलपत्र परेका यात्रुहरु र गाडीका स्टाफहरु सुरक्षित स्थानमा रहन र लेन अनुशासनको पालना गरी धैर्यतापूर्वक प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ । यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको थियो ।

पहिरोका कारण सडकमा परेको गाडीको चाप सामान्य हुन नपाउँदै जवाङ खोलामा फेरि पहिरो खस्दा दसैं मनाउन गाउँ फर्किरहेका यात्रुहरुको यात्रा झन् कष्टकर बनेको छ ।