काठमाडौँमा भएको जेनजी प्रदर्शनमा सहभागी हुम्ला घर भएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता छन्।
भदौ २४ भएको जेनजी आन्दोलनमा सामेल हुम्लाको नाम्खा गाउँँपालिका-३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्ने गरेका थुक्तेन अहिलेसम्म सम्पर्कमा नआएका हुन्।
बुबा टसी छिरिङका अनुसार भदौ २३ गते भने उनी जेनजी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए।
तर होटेलमा काम गर्ने थुक्तेन भदौ २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर फेरि प्रदर्शनमा गएका थिए।
तर त्यसयता उनी कोठा नफर्केको बुबा टसी छिरिङले बताए।
एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताउनुभयो । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।
हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गर्नुभएको छ । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताउनुभयो । चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आउनुभएको उहाँका बुबाले जानकारी दिनुभयो ।





