भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनले नेपाली काँग्रेसको केन्द्रीय लगायत अधिकांश जिल्ला र प्रदेश कार्यालयहरूमा व्यापक क्षति पुर्याएपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चुलिएको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले पार्टीको कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको विशेष महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्न छिटै कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए । उनले जेन-जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गरे । रिजालले जेन-जी पुस्ताको सहभागिता र उनीहरूको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरू गम्भीर रहेको पनि बताए ।
उनले भने, ‘यो नहुनुपर्ने भयो । पार्टीमाथि आक्रमण गर्नु सर्वथा निन्दनीय विषय हो । म यसको निन्दा गर्छु । विचार बोकेको पार्टी हो नेपाली काँग्रेस । आगामी दिनमा पार्टीको दोस्रो तहमा बसेका मान्छेहरूले सम्भावना त छँदैछ नि । अब पार्टीको पदाधिकारी, कार्यसम्पादन समिति लगायतको बैठक बस्छ । बैठकले निकालेको निचोडका आधारमा हामी अगाडि बढ्छौं । विशेष महाधिवेशन गर्ने कि नगर्ने विषय पनि बैठकले नै निर्णय गर्छ । जेन-जी पुस्ताको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ ।





