तुइन खोलामा पहिरो खसेको-खस्यै, मुग्लिन-नारायणगढ सडक अझै चार घण्टा नखुल्ने

हिजो साँझदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै कम्तिमा चार घण्टासम्म नखुल्ने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुइन खोला पुल नजिकै निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको हो ।हिजो साँझ करिब ६:३० बजेदेखि निरन्तर खसेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । आज बिहान ७:४० बजे पुनः ठूलो पहिरो खसेपछि सडक खुलाउन समस्या भएको हो । 

तीनवटा लोडर र एउटा एक्साभेटर परिचालन गरेर दुवैतर्फबाट पहिरो हटाउने कार्य जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । साथै, मुग्लिनतर्फबाट अर्को एक्साभेटर पनि साइटतर्फ आइरहेको सडक डिभिजनले जनाएको छ । ‘ढुंगा खस्ने क्रम निरन्तर भइरहेको  हुँदा पहिरो हटाउन समस्या भएको छ । तथापि हाल  ३ वटा  लोडर र एउटा एक्साभेटर परिचालन गरी दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भइरहेको साथै मुग्लिन तर्फबाट अर्को एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै गरेको जानकारी गराउछौं,’ सडक डिभिजनले भनेको छ, ‘थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तिमा ४ घण्टामा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको व्यहोरा  अनुरोध छ ।’

यसअघि हिजै साँझ तुइन खोलामा खसेको पहिरोले रातिदेखि नै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध छ । पहिरोले १०० मिटर सडक ढाकेको छ । शुक्रबार दिउँसो पनि यहाँ पटक पटक पहिरो खसेको थियो । पहिरो सफा गरेर सवारी सञ्चालन गरिएको अवस्थामा शुक्रबार साँझ झन् ठूलो पहिरो खसेको थियो । 

पहिरोले सडक अवरुद्ध हुँदा शुक्रबार साँझ ६ बजेदेखि नै यात्रुहरू सडकमा छन् ।  सवारी चल्न नसक्दा यात्रुहरू रातभर सडकमै बसेका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ ।

सडक अवरुद्ध भएपछि यात्रु तथा चालकलाई तत्कालका लागि वैकल्पिक सडक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।