पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेको छ । विनयी त्रिवेणी गाउँपालिका-२ पैंसठ्ठी मोड नजिकै पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण दुई दिनयता एकतर्फी मात्र यातायात सञ्चालन भएको सडकमा पहिरो खसेपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि पानी परीरहेकाले सडकको अवस्था राम्रो नहुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए ।
दाउन्नेमा पानीको निकास नहुदा वर्षाको पानी सडकमा नै बग्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
हरेक वर्ष यही समस्या दोहोरिँदा पनि सडक विभाग र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कर्पोरेसनले समस्या समाधानमा चासो नदिँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।





