सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, देउवा अनुपस्थित

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो । बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित भएका छन् ।

यही गएको भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सभापति देउवा दम्पतीको हाल उपचार भइरहेको छ । सभापति देउवाले संविधान दिवसमा विज्ञप्ति निकालेर शुभकामना भने दिएका थिए ।

भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए । आगजनी भएको भवनमै पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो । कांग्रेसले दिउँसो २ बजे पत्रकार सम्मेलन गरी निर्णय जानकारी गराउने भएको छ ।