प्रहरीको कडा पहराबीच आज नेकपा (एमाले)ले संविधान दिवस मनायो ।
गत २४ गतेको प्रदर्शनमा खरानी बनेको पार्टी कार्यालयमै कार्यक्रम आयोजना गरिएको थियो ।
पार्टी कार्यालय र आफ्नै सम्पत्ति जलेर नष्ट भएका कारण नेता–कार्यकर्ताको अनुहार मलिन थिए ।
कार्यक्रम एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भयो भने मुख्य वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए ।
कार्यकर्ताहरूको ध्यान पार्टी कार्यालयको भग्नावशेषमा थियो ।
च्यासलस्थित पार्टीका सबै भवन आगजनीबाट खण्डहरमा परिणत भइसकेका छन् ।
अध्यक्ष केपी शर्मा ओली उपस्थित नभए पनि उनका सन्देश उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यक्रममा वाचन गरे ।
फेसबुकमा पनि उनले आन्दोलनलाई षड्यन्त्रमूलक घटनाका रूपमा व्याख्या गर्दै समयले सबै कुरा स्पष्ट गर्ने बताएका छन् ।
कार्यक्रमपछि एमालेले तत्काल सचिवालय वा केन्द्रीय कमिटी बैठकको आयोजना नगर्ने र दसैंअघि कुनै ठूलो बैठक नहुने नेताहरूले जानकारी दिए ।





