नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशलाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र चुनौती समाधानका लागि सात दिनभित्रै कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गरेका छन् ।
कुलमानले विद्युतको खपत बढाउन भन्दै इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने र विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो । दीर्घकालीन रूपमा उनले नेपाललाई पूर्णरूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा लैजाने महत्त्वाकांक्षी निर्णय गरेका छन् ।
‘विद्युतीय सवारीसाधनको प्रयोगमा नेपाल विश्वमै टप कन्ट्रीमा पर्छ,’ उनले भने, ‘अब सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, रेल, मेट्रो र सवारीसाधन विद्युतबाटै चलाउनुपर्छ ।’
यसले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा बचाउनुका साथै सन् २०४५ सम्मको कार्बन न्युट्रल लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।





