भदौ तेस्रो साताबाट नेपाल र चीनबीच सैन्य अभ्यास हुने

 नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ ।

सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ । सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबीच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारीबारे घनीभूत छलफल भइरहेको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्न सहमति जुटाइसकेको जंगी अड्डा स्रोतले दाबी गरेका छ।

स्रोतका अनुसार, उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ।नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासको मोडालिटी, पर्यवेक्षक र सहभागी संख्या टुंगो लगाउन दुबै पक्ष अन्तिम छलफलमा जुटेका छन्।