लमजुङको सुन्दर बजारमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुबाहक अटो पोख्रेल गाउँको घुम्तीमा दुर्घटना भएको हो।
ग.प्र. ०४-००१ ह २०४ नम्बरको उक्त अटो दुर्घटना हुँदा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।
दुर्घटनामा परेर सुन्दरबजारका कृष्णकुमारी रेग्मी, सिर्जना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने र पर्वतको कुश्मा नगरपालिका–१० भई हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षाकिरण शर्मा सामान्य घाइते हुनुभएको छ । सामान्य घाइते सबैको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिनुभयो ।
दुर्घटनापछि अटो र चालक विनोद खड्कालाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ । प्रहरीका अनुसार अटोले क्षमता भन्दा बढी यात्रु बोकेको र सो समयमा पानी परिरहेको कारण घुम्तीमा पुग्दा चालकको नियन्त्रण गुमेर सडकबाट छेउतिर लडेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





