जनकपुरको थापाचोकस्थित रेल्वे लिक क्रस गर्ने क्रममा रेल र कार एक आपसमा ठोक्किएका छन् । रेलको लिक पार गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार रेलसँग ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले लोकान्तरसँग भने,‘घटनास्थलका प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने कम भइरहेको छ, रेल भंगाहातर्फबाट जनकपुरतर्फ जाँदै थियो भन्ने बुझिएको छ ।’
थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ । दुर्घटनामा मानवीय क्षति भने हुन नपाएको एसपी रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार थापा चोकबाट हिरा अस्पतालतर्फ आउँदै गरेको उक्त कार रेल्वे लिकमा चक्का फसेर अड्केको थियो ।
सोही बेला पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको १७८३१५ नम्बरको रेलले ठक्कर थियो । दुर्घटनामा कार चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका-६ निकाल बस्ने शिवसागर यादवको छोरा अन्दाजी २२ वर्षीय ललित यादव सामान्य घाइते भएका छन् ।
उनको हिरा अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए ।





