पश्चिम नेपालमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

पछिल्ला ६ घण्टामा दाङ, बाँके र बर्दियामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी मापन गरिएको छ। ती क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको जनाइएको छ।

महाशाखाले दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा क्षेत्र, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर क्षेत्रलाई बाढीको उच्च जोखिममा राखेर विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

गए राति मधेश प्रदेशसहित देशका अन्य थुप्रै भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षा हुन सक्नेछ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।