न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।
हिजो पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको थियो भने यो क्रम आज आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो । आजदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमासमेत वर्षा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने बताइएको छ ।
आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाछ ।तराई क्षेत्रमा आज रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।





