मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ६ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् ।सडकमा खसेको पहिरो र लोदो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले बताएको छ ।