नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि आज खेलाडीको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि सुरू हुनेछ । अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ । अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन् । यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।
क्यानले दिएको समयभित्र कूल चार सय ५८ जना खेलाडीले अक्सनमा सहभागी हुने चाहनासहित आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट क्यानको प्राविधिक समितिले आफ्नो मापदण्डभित्र परेका १५० जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।आज हुने अक्सनमा १५० जना खेलाडीमात्र सहभागी हुनेछन् । त्यसमध्ये आठजना खेलाडी ‘ए’ श्रेणीमा परेका छन् । क्यानका अनुसार ३५ जना खेलाडी ‘बी’ श्रेणीमा र १०७ जना खेलाडी ‘सी’ श्रेणीमा परेका छन्
।शनिबार हुने अक्सनमा एनपीएलमा सहभागी आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् । श्रेणी ‘ए’ मा चार खेलाडी आवश्यक पर्नेछ । श्रेणी ‘बी’ बाट २३ जना खेलाडीको खरिद–बिक्री हुनेछ । दोस्रो चरणको अक्सनमा श्रेणी ‘बी’ मा रहेका कुनै खेलाडीलाई कुनै पनि टोलीले बोली नलगाएमा ती खेलाडी समूह ‘सी’मा झर्नेछन् ।
त्यसैले यस्ता खेलाडीमाथि ‘सी’ श्रेणीमा पनि बोली लगाउन मिल्नेछ । श्रेणी ‘सी’ मा भने १० खेलाडी खरिद–बिक्री हुनेछन् । श्रेणी ‘ए’ मा रहेका खेलाडीहरुको न्युनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रूपैयाँ तोकिएको छ ।यसैगरी ‘बी’ श्रेणीमा रहेका खेलाडी न्युनतम मूल्य पाँच लाख र अधिकतम मूल्य १० लाख रूपैयाँ तोकिएको छ । श्रेणी ‘सी’ मा रहेका खेलाडीको लागि भने न्युनतम मूल्य दुई लाख र अधिकतम मूल्य पाँच लाख रूपैयाँ निर्धारण गरिएको छ ।




