सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियन आन्दोलनमा उत्रिएका छन् । उनीहरू खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दे सबै कामकारबाही ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् ।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिई उनीहरूले सबै काम ठप्प पारेका हुन् । खाइपाइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी यसअघि मन्त्रीस्तरीय निर्णय तत्काल खारेज उनीहरुको माग रहेको छ ।
आज दिउँसो केही बोर्ड परिसरमा नाराबाजी समेत गरेर उनीहरूले विरोध प्रदर्शन गरेका थिए । हाल कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् ।
तर हालै मन्त्रीस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिइएको छ । त्यति मात्रै नभई यसअघि लिइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी निर्णय भएको छ ।
लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बोर्ड अध्यक्ष श्रेष्ठलाई यो निर्णय तत्काल फिर्ता गर्नरगराउन वा राजीनामा दिन भन्दै उनीहरूले दबाब दिएका छन् ।




