काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग संसदमा विचाराधीन विधेयक र सरकारद्वारा पेश गरिएका अध्यादेशहरूबारे छलफल गर्नुभएको छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा लामो समयदेखि संसदमा विचाराधीन रहेका विधेयकहरू तथा सरकारले ल्याएका अध्यादेशहरूका विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभाको बैठक भोलि बस्ने कार्यक्रम रहेको छ। बैठक अगाडि नै सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरी विधेयक र अध्यादेशहरूबारे आवश्यक परामर्श गर्नुभएको हो।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
यस छलफलमा संसदमा अड्किएका विधेयकहरूलाई छिटो अघि बढाउने विषयमा जोड दिइएको बताइएको छ। साथै, सरकारद्वारा ल्याइएका अध्यादेशहरू संसदमा छलफलका लागि कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पनि छलफल भएको छ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने उद्देश्यले सबै दलका प्रमुख सचेतकहरूसँग संवाद र समन्वयलाई निरन्तरता दिने बताउनुभएको छ।





