काठमाडौं, माघ २३ – काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा कार्यरत २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले घटनाको पुष्टि गर्दै बुधबार चौधरी ब्यारेकभित्र झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयभित्र निरन्तर आत्महत्याका घटना
यसअघि पनि प्रहरी कार्यालयभित्रै महिला प्रहरीको आत्महत्या भएको घटनाहरू सार्वजनिक भइसकेका छन्। जेष्ठ ३१, २०८१, मा जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २५ वर्षीया प्रहरी जवान करिष्मा सुनार कार्यालयको दोस्रो तल्लाको बाथरूममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रहरी संगठनमा मानसिक स्वास्थ्यको चुनौती
प्रहरी कार्यालयभित्र आत्महत्याका घटनाहरू दोहोरिनु गम्भीर विषय भएको सुरक्षाविद्हरू बताउँछन्। प्रहरी संगठनभित्र कामको तनाव, मानसिक स्वास्थ्य समस्या तथा कार्यस्थलको दबाबका कारण यस्ता घटनाहरू भइरहेका हुन सक्ने अनुमान गरिएको छ।
मानसिक तनाव व्यवस्थापनका लागि प्रहरी संगठनले परामर्श सेवा, मनोवैज्ञानिक सहायता तथा अनुकूल कार्यस्थल वातावरण तयार गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन्। प्रहरीले भने यसबारे गहिरो अनुसन्धान गरिने र आवश्यक सुधारका कदम चालिने जनाएको छ।





