काठमाडौं, १५ माघ । वरिष्ठ कूटनीतिज्ञ एवं पूर्वमन्त्री निलम्बर आचार्यले दुई ठूला दल मिलेर सरकार बनाउनुको दुरागामी महत्व रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको समीकरण आगामी चुनावसम्म जाने र राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेर पनि वर्तमान सरकार नढल्ने उनको दाबी छ । वर्तमान सरकारले काम गर्न सकेन भन्दैमा यसको औचित्य सकियो भन्न नमिल्ने उनले बताए । प्रचण्डले देशमा अस्थिरता चाहँदैमा देशमा अस्थिरता आउने भन्ने नहुने उनले बताए ।
‘उहाँले अस्थिरता ल्याउन खोज्दैमा अस्थिरता हुन्छ भन्ने त छैन नि । उहाँको प्रयास हुँदाहुँदै पनि यो सरकार टिकिराखेकै छ, अगाडि बढिराखेकै छ । गर्नुपर्ने काम गरिराखेकै छ । हामीले अपेक्षा गरेको त संविधान संशोधनकै कुरा होलान्, आर्थिक सुधार, विकाससम्बन्धी कुराहरु होलान् । हामीले अपेक्षा गरेको कुराहरु हुन सकेनन् । तर, यो सरकारको औचित्य समाप्त भयो, यो सरकारले सकेन भन्ने होईन,’– उनले भने ।
वर्तमान सत्ता गठबन्धन २०८४ सम्म नै अगाडि जाने उनको दाबी छ । कुटनीतिज्ञ आचार्यले आफ्नो अस्तित्वको निम्ति प्रचण्डले अहिले केही न केही फतुर लगाउने गरेको बताए । उनले शासन गर्नका लागि जनतामा गएर जनमत प्राप्त गरी आउन प्रचण्डलाई सुझाव दिए ।
‘यो गठबन्धन त ०८४ सम्मलाई हो । शेरबहादुरजी प्रधानमन्त्री हुन बाँकी नै छ । अधैर्य भइहाल्ने, भएको सरकार गिराउने कुरा ठीक होईन । यो प्रजातान्त्रिक परिपाटी पनि होईन । जनतामा जानुस्, जनतालाई चित्त बुझाउनुस् र आम निर्वाचनमार्फत आउनुस् ।’ आचार्यले भने, ‘उहाँ सरकारबाट हट्नुपरेको छ । प्रतिपक्षको नेता ह्ुनुहुन्छ । आफ्नो अस्तित्वको निम्ति पनि उहाँले केही न केही पतुर छोड्नुपर्ने हुन्छ । त्यही गरिराख्नु भएको छ । उहाँको शक्ति नै पुग्दैन, सरकार ढाल्नलाई शक्ति चाहिन्छ नि । दुईवटा पार्टी मिल्दासम्म कसरी सरकार ढाल्न सकिन्छ ?’
कांग्रेस–एमाले गठबन्धन सरकार अप्रजातान्त्रिक प्रयासलाई विफल पार्नका निम्ति गरिएको प्रजातान्त्रिक प्रयास रहेको उनले बताए ।





